

माडी, चितवन — माडी नगरपालिकामा भित्री बाटोहरु कालोपत्रे हुने क्रममा तमुचोक पुष्पमदन बाटिका सडक कालोपत्रे भएको छ । संघीय र नगरको ५०–५० प्रतिशत लागत (समपुरक) बजेटबाट लक्ष्मनिवास खण्डमा १.९३ किलोमिटर लामो सो सडक कालोपत्रे भएको हो ।

यसअघि, बागमती प्रदेश र माडी नगरपालिकाको ५०–५० प्रतिशत लागत (समपुरक) बजेटबाट मगोई खोलादेखि बैराठ हुँदै ईनारबरुवा गाउँसम्म २.०५ किलोमिटर सडक कालोपत्रे निर्माण भएको थियो । नगरपालिकाले भित्री सडकहरु कालोपत्रे कार्यलाई प्राथमिकतामा राखेको माडी नगरप्रमुख ताराकुमारी काजी महतोको भनाई छ ।

नगरबाहेक प्रदेश पूर्वाधार कार्यालय र डिभिजन सडक कार्यालयले समेत माडीमा कालोपत्रे कार्यलाई तीब्रता दिएका छन् । पूर्वी माडीको हुलाकी सडक (जीवनपुर खरकट्टा खण्ड)मा प्राइम छर्किई सकेर यसै साताभित्र कालोपत्रे गर्ने तयारी गरिएको ठेकदार पक्षले जनाएको छ ।
