

माडी, चितवन — ठोरी गाउँपालिका–१ गोलेडाँडामा नयाँ पर्यटकीय केन्द्रका रुपमा स्काई भ्यु टावर निर्माण भएको छ ।

करिब ११ लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको यो टावर विशेष ढाँचामा सिसाको प्रयोगसहित बनाइएको छ, जसले पर्यटकका लागि रोमाञ्चक अनुभूति दिने निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताउनुभयो ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण उँचो स्थानमा निर्माण गरिएको टावरबाट एकै स्थानमा उभिएर समग्र ठोरी क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ भने मौसम सफा रहेमा सगरमाथादेखि अन्य प्रमुख हिमश्रृंखलासम्म देख्न सकिने बताइएको छ ।

ठोरी क्षेत्रको पर्यटकीय आकर्षणको केन्द्रबिन्दु बन्ने अपेक्षा गरिएको सो भ्यु टावरको औपचारिक उद्घाटन मंगलबार ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले गर्नुभयो । उद्घाटन समारोहमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा र उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
— — —
#स्वदेश न्यूज डेस्क
२०८२ बैशाख ०९ गते मंगलबार साँझ ०९:०० मा प्रकाशित