चितवन खबर पोष्ट

अयोध्याधामको नाममा जग्गा दर्ता हुन नसक्दा त्यहाँको समग्र विकास निर्माण प्रभावित

माडी, चितवन — माडी नगरपालिका–९ स्थित (प्रस्तावित) अयोध्याधामको नाममा हालसम्म जग्गा दर्ता हुन नसक्दा त्यहाँको समग्र विकास निर्माण प्रभावित भएको छ । जग्गा प्राप्तिका लागि वडा र नगर स्तरबाट निर्णय भइसकेको छ र मन्त्रालयमा सिफारिस गर्ने प्रक्रिया अघि बढाइएको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ असार २९ गते अयोध्याधामको घोषणा गर्नुभएको थियो। सोहीअनुसार २०७८ वैशाख ८ गते मूर्ति प्रतिस्थापन गरिएको थियो। तर धामको नाममा आधिकारिक जग्गा नहुँदा सरकारी बजेट विनियोजनमा समस्या आइरहेको नगर प्रमुख महतोको भनाइ छ ।

धाम विकासमा अगुवा श्याम विष्टका अनुसार हाल व्यक्तिले छाडेका जमिन, खोलाको उकास र ऐलानी जमिन गरी झण्डै १०० बिघा क्षेत्र धामका लागि छुट्याइएको छ। तर संस्था दर्ता र आवश्यक कागजात प्रक्रिया पुरा नभएकाले नामसारी हुन सकेको छैन। यसै कारण बागमती प्रदेशको पर्यटन मन्त्रालयबाट तयार भएको गुरुयोजना पनि हालसम्म अनुमोदन हुन सकेको छैन।

माडी–९ का पूर्ववडाध्यक्ष शिवहरि सुवेदीका अनुसार धामको नाममा जग्गा नभएकै कारण प्रदेश सरकारको बजेटसमेत कार्यान्वयनमा समस्या आइरहेको छ। एकातिर आन्तरिक तथा बाह्य पर्यटकहरूको चाप बढ्दै गएको छ भने अर्कातिर आवश्यक पूर्वाधार विकास गर्न नसकिएको गुनासो छ।

हालसम्म धाम क्षेत्रभित्र अस्थायी रूपमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति सहित मन्दिर निर्माण गरिएको छ। पूजा व्यवस्थापन समितिका अध्यक्ष मथुराबहादुर भण्डारीका अनुसार ४० जना क्षमताको धर्मशाला, खानेपानी लगायत पूर्वाधार निर्माण भइसकेको छ। अहिलेसम्म करिब ८५ लाख रुपैयाँ खर्च भइसकेको र बागमती प्रदेश सरकारबाट विनियोजित १ करोड ५० लाख रुपैयाँ जग्गा संरक्षणका लागि खर्च गर्ने गरी सम्झौता गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार