खेल र खेलाडी पोष्ट

नेत्रहीन विश्वकप क्रिकेटमा सहभागी माडीका क्रिकेट खेलाडी गुरागाईंलाई नगद सहित सम्मान

माडी, चितवन — माडी नगरपालिकाले नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी रही उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट खेलाडी अमिश गुरागाईंलाई नगद सहित सम्मान गरेको छ ।

गत मंसिर ७ देखि १८ गतेसम्म पाकिस्तानमा सम्पन्न चौथो टी–ट्वान्टी नेत्रहीन विश्वकप क्रिकेटमा माडी नगरपालिका वडा नं. ५ निवासी खेलाडी गुरागाईंको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी भएको नेपाली टीमले उत्कृष्ट प्रदर्शन गर्दै सेमीफाइनल सम्मको यात्रा तय गरेको थियो ।

सो विश्वकव प्रतियोगितामा नेपाली टोलीमा सहभागी रहँदै उत्कृष्ट प्रदर्शन गर्नुभएका खेलाडी गुरागाईंलाई मंगलबार माडी नगरप्रमुख ताराकुमारी काजी महतोले आफ्‌नै कार्यकक्षमा नगद रु. १० हजार सहित दोसल्ला र कदर-पत्र सहित सम्मान गर्नुभएको हो ।

त्यस अवसरमा माडी नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल, वडा नं. ५ का वडाध्यक्ष गणेश प्रसाद विश्वकर्मा र नगर शिक्षा शाखा प्रमुख सुरेन्द्र गिरीसहित गुरागाईंको परिवार सदस्यहरुको उपस्थिति रहेको थियो । सम्मान पाएपश्चात खेलाडी गुरागाईंले आफूलाई खेल क्षेत्रमा थप मिहिनेत गर्न प्रेरणा मिलेको बताउँदै कदरकर्ता सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार