निकुञ्जभित्र ७.८१ किमि सडक बनाउन ९० करोड लागत अनुमान

चितवन, २७ कार्तिक, २०८३ । चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी र भरतपुर जोड्ने हुलाकी राजमार्गको वैकल्पिक सडक निर्माणका लागि ९० करोड ७ लाख रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको छ । रिउखोला (बनकट्टा)–देउराली–नयाँपुल–ध्रुवघाट–जगतपुर खण्डको ७.८१ किलोमिटर सडक निर्माणका लागि उक्त लागत अनुमान गरिएको हो ।

हुलाकी राजमार्ग निर्देशनालयको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनअनुसार सडक निर्माणका क्रममा २० हेक्टर जमिन प्रभावित हुने र करिब एक हजार ९ सय रुख काट्नुपर्नेछ । वातावरणीय प्रभाव न्यूनीकरणका लागि ६ करोड ७ लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव गरिएको छ ।

वन्यजन्तुको आवागमन सहज बनाउन अन्डरपास, कल्भर्ट र गाइडिङ फेन्स निर्माण गर्ने तथा गति नियन्त्रण र क्यामेरा ट्र्याप राख्ने योजना पनि प्रतिवेदनमा समेटिएको छ ।

प्रस्तावित सडकले माडी र ठोरी क्षेत्रका बासिन्दालाई भरतपुर आवतजावत गर्न वैकल्पिक मार्ग उपलब्ध गराउने अपेक्षा गरिएको छ । ईआईए प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ । स्वीकृतिपछि मात्र ठेक्का प्रक्रिया अघि बढ्नेछ ।

तपाईको प्रतिक्रिया