घाँसेमैदान सफा गरिएपछि चितवन निकुञ्जमा वन्यजन्तु देख्न सहज

चितवन, २७ कार्तिक, २०८३ । चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी गर्ने पर्यटकलाई वन्यजन्तु अवलोकन सहज बनाउन ८५ हेक्टर घाँसेमैदान व्यवस्थापन गरिएको छ । निकुञ्जले यस वर्ष सडक मर्मतसँगै घाँसेमैदान सफाइलाई पनि प्राथमिकता दिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार पहिलो चरणमा जीप सफारी मार्ग आसपासका घाँसेमैदान सफा गरिएको छ । भित्री क्षेत्रका घाँसेमैदान व्यवस्थापनको काम पनि भइरहेको छ । यसबाट पर्यटकले एकसिङ्गे गैँडा, पाटेबाघ, गौरीगाई, भालु, चित्तललगायतका वन्यजन्तु तथा चराचुरुङ्गी सहजै देख्न पाएका छन् ।

हाल कसराबाट २३, मेघौलीबाट १३ र सौराहाबाट ३२ वटा जीपले निकुञ्जभित्र सफारी सेवा दिँदै आएका छन् । रिउ खोलामा पानीको सतह नघटेकाले नवलपरासी क्षेत्रबाट भने जीप प्रवेश गर्न सकेका छैनन् । खोलामा बाटो बनाएर छिट्टै अमलटारीसम्म जीप सञ्चालन गर्ने तयारी रहेको सूचना अधिकारी तिवारीले बताए ।

सन् २०२५ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५ वटा पाटेबाघ छन् । त्यस्तै, निकुञ्जमा ६९४ वटा एकसिङ्गे गैँडा रहेको तथ्याङ्क छ । बर्सातमा बाटो बिग्रने भएकाले बन्द हुने जीप सफारी वर्षात सकिएपछि सडक मर्मत गरेर पुनः सञ्चालन गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया