

माडी, चितवन — १८औँ गणतन्त्र दिवसको अवसर पारी नेकपा एमाले माडी नगर कमिटिले दीप प्रज्वलन गरेको छ । एमाले माडीका नेता कार्यकर्ताहरुको सहभागितामा बसन्तपुर बजारमा दीप प्रज्वलन गरिएको हो ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको हो ।

यसदिन नेपाली जनतालाई स्वतन्त्रता र उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । यद्यपि पछिल्लो समय भ्रष्टाचार, कुशासन र सरकारी अस्तव्यस्तताका कारण केहि नेपालीहरुमा यो व्यवस्थाप्रति असन्तोष बढ्दै गएको पनि देखिन्छ ।