

माडी, चितवन – माडी नगर क्षेत्रभर सर्बाधिक दुध उत्पादनको रेकर्ड कायम गरेको माडी-७, कीर्तनपुरस्थित रोचक गाई फर्म र त्यसका सञ्चालक राजन पौडेललाई सम्मान गरिएको छ ।
२५औं अन्तर्राष्ट्रिय दूध दिवसको अवसर पारी माडी नगरपालिका पशुपंक्षी तथा मत्स्य सेवा शाखाले आयोजना गरेको एक कार्यक्रमबिच माडी नगरप्रमुख ताराकुमारी काजी महतो, नगर कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेल र शाखाप्रमुख डा. रबिन बस्ताकोटीले फर्म सञ्चालक पौडेललाई कदरपत्र र दोसल्ला सहित सम्मान गर्नुभएको हो ।

पौडेलले सञ्चालन गर्नुभएको रोचक गाई फर्मले गत आर्थिक बर्ष २०८०/८१ मा कूल ५६ हजार ५२८ लिटर दुध उत्पादन गरेको हो । कर्मशील कृषक पौडेलले नगरबाट सम्मान पाउँदा आफूलाई निकै खुसी र थप व्यवसायिक उत्पादनको प्रेरणा मिलेको बताउनुभयो ।
