

माडी, चितवन — माडी नगरपालिका वडा नं. ८, कान्तिपुर टोलका महिलाहरूले व्यावसायिक रुपमा पञ्चेबाजा बजाउन सुरु गरेका छन् । पछिल्लो समय माडीका विभिन्न स्थानमा हुने विवाह, ब्रतबन्ध, भेला, कार्यक्रम एवं मेलामहोत्सवहरुमा कान्तिपुर महिला समूहको नौमतीबाजा घन्किने गरेको छ ।
गाउँघरमा पञ्चेबाजा पुरुष व्यक्तिहरूले मात्र बजाउनु पर्दछ भन्ने परम्परागत मान्यतालाई चिर्दै कान्तिपुर गाउँका महिलाहरूले नौमती बाजालाई आफ्नो पेशाका रूपमा अगाडि बढाउँदै लगेका हुन् ।

कहिलेकाँही कोहि महिला बाद्यवादक उपस्थित हुन नसकेको अवस्थामा पुरुषले सहयोग गर्नेगरेका भएपनि मुख्यरुपमा महिलाहरुले नै बाजा बजाउने र संगसंगै नाँचगान गर्ने गरेका हुन् । कान्तिपुर सामुदायिक होमस्टे सञ्चालन समेत गर्नेगरेका उनीहरु होमस्टेका पाहुनाहरुलाई स्वागत समेत बाजा बजाई नाँचगान गरेर गर्नेगरेको बताउँछन् ।

महिलाहरूलाई पञ्चेबाजा बजाउन तालिम प्रदान गरेपछि उनीहरू व्यावसायिक रूपमा अगाडि बढेको कान्तिपुर गाउँका सामाजिक अगुवा डिलबहादुर गायकले बताउनुभयो । (भिडियोः माडी सितलपुरमा व्यवसायिक रुपमा पञ्चेबाजा बजाउँदै कान्तिपुर सामुहिक महिला पञ्चेबाजा टोली)