

चितवन । माडी नगरपालिकाले अघिल्लो बर्षभन्दा आ.व. २०८०/८१ मा बेरुजुको अंक घटाएपनि आन्तरिक वित्तीय प्रणाली कमजोर देखिएको छ ।
महालेखापरीक्षकको कार्यालयद्वारा प्रकाशित माडी नगरको बार्षिक प्रतिवेदन अनुसार, गत आ.व. २०८०/८१ मा २ करोड १४ लाख ५९ हजार बेरुजु फर्स्योट हुन बाँकी रहेको हो । २ अरब ४ करोड बढी रकमको लेखापरीक्षण गरिएकोमा २४ लाख ३२ हजारको प्रतिक्रियाबाट फस्यौट भई सो रकम बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि, नगरको सुरुदेखिकै बेरुजु रकम समेत जोड्दा जम्मा बेरुजु ४८ करोड १४ लाख ७३ हजार पुगेको छ । बार्षिक रुपमा बेरुजु थपिँदै जाँदा माडी नगरको बेरुजु अंकको ग्राफ उच्च देखिन थालेको छ भने प्रतिवेदनमा नगरपालिकाले आन्तरिक नियन्त्रण प्रणालीमा समेत कमजोरी औंल्याइएको छ ।

माडी नगरप्रमुख ताराकुमारी काजी महतोले ‘विगतको बर्षभन्दा बेरुजु रकम धेरै घटेको’ प्रतिक्रिया दिनुभएको छ । ‘नियमित गर्नुपर्ने, प्रमाण कागजात पेश गर्नुपर्ने तथा प्रतिक्रिया दिनुपर्ने कामलाई प्राथमिकता दिइ बेरुजु घटाउँदै लैजाने प्रयास गरिएको’ उहाँले बताउनुभयो ।
महालेखाको प्रतिवेदनले विगतमा झैं गत आ.व.मा समेत मुख्यतः करार कर्मचारीहरुको सेवा सुविधालाई प्रश्न उठाएको छ । यसबाहेक अनुत्पादक क्षेत्रमा आर्थिक सहायता दिएको, सेवा प्रवाहको अभिलेख नराखिएको, कतिपय खरिद कार्य व्यवस्थित र प्रतिस्पर्धी नदेखिएको, फोटोकपी बिलमा समेत भुक्तानी भएको, एकीकृत वित्तीय विवरणमा समावेश हुनुपर्ने रकम छुटिएको, सञ्चित कोषको बैंक मौज्दात विवरणमा असमानता देखिएको लगायतका बिषय औंल्याएको छ ।