

माडी, चितवन – माडी नगरपालिकाद्वारा सञ्चालित ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन केन्द्र (क्रसर) थप समयमा समेत सञ्चालन हुन थालेसंगै गिट्टी र बालुवाजन्य पदार्थको अभाव हट्नुका साथै स्टोर (डिपोजिट) बढेको छ ।
हाल कार्यालय समय बाहेक बिहान र साँझको थप समयमा समेत प्लाण्ट सञ्चालन हुनेगरेको छ । यसअघि, माडी नगरको ४३औं कार्यपालिका बैठकले माडी–६, मजुवास्थित सो क्रसर प्लाण्टलाई दुई सिफ्टमा बहान ६ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।

पछिल्लो समय कार्यालय समयावधीभर (१०–५) मात्रै सञ्चालन हुँदा सो प्रशोधन केन्द्रले ढुङ्गा, गिट्टी, बालुवाजस्ता निर्माण सामग्रीहरुको माग अनुसार पर्याप्त उत्पादन दिन (माग धान्न) सकेको थिएन । हाल माग अनुसारको निकासी दिनुका साथै थप स्टोर (डिपोजिट) समेत बढेको देखिएको हो ।

माडी नगरपालिकाको आन्तरिक आम्दानीको मुख्य श्रोत समेत रहेको सो प्रशोधन केन्द्र थप समयमा समेत सञ्चालन हुँदा उत्पादन बृद्धि भई उपभोक्ताहरुको माग पुर्ती हुनुका साथै नगरको आन्तरिक आयमा समेत बढोत्तरी हुन थालेको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले बताउनुभयो ।