चितवन खबर पोष्ट

भरतपुर महानगरपालिका र बागलुङको ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापित

माडी, चितवन — माडी नगरपालिकासंग भगिनी सम्बन्ध कायम रहेको भरतपुर महानगरपालिकासंग बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको पनि भगिनी सम्बन्ध स्थापना भएको छ।

दुबै पालिकाबीच असल अभ्यास आदानप्रदान तथा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रविधिजस्ता क्षेत्रहरूमा आपसी सहकार्य बढाउने उद्देश्यले सोमबार भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

भरतपुर महानगरमा आयोजित विशेष कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक (विश्वकर्मा) र भरतपुर महानगरकी प्रमुख रेणु दाहालले समझदारीपत्रमा हस्ताक्षर गर्दै औपचारिक रुपमा भगिनी सम्बन्धको घोषणा गर्नुभएको हो ।

गण्डकी प्रदेशअन्तर्गत पर्ने ताराखोला गाउँपालिका पर्यटकीय सम्भावनाले भरिपूर्ण छ। घुम्टे, गाईघाट झरना, डुडेलेक, तिनचुले, बराह मन्दिर, घुम्टे सिद्ध थानजस्ता स्थलहरू यस क्षेत्रका प्रमुख आकर्षण हुन्। सशस्त्र जनयुद्धको केन्द्र रहेको ताराखोला गाउँपालिका ऐतिहासिक रुपमा पनि विशिष्ट स्थानमा रहेको स्थान हो ।

भरतपुर महानगरले हालसम्म माडी नगरपालिका सहित पोखरा महानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, धुरकोट गाँउपालिका, रुरुक्षेत्र गाउँपालिका, राप्ती गाउँपालिका, पचाल झरना गाउँपालिका, मुड्केचुला गाउँपालिका र ताराखोला गाउँपालिकासँग भगिनी सम्बन्ध कायम गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार