१५ मंसिर, माडी । माडी नगरपालिका-०२ भैरवपुरका स्थानीय बासिन्दा तीन वर्षदेखि खानेपानी संकटको सामना गर्दै आएका छन् । भूमिगत पाइपमार्फत गर्दी खानेपानी योजनाको पानी जडान गरिनुपर्ने सो क्षेत्रका लागि पाइपलाइन कार्य पुरा हुन नसक्दा खानेपानीको वितरण रोकिएको हो ।
बाटो निर्माणका क्रममा पुरानो पाइपलाइन काटिएपछि खानेपानी आपूर्ति रोकिएको थियो । त्यसपछि बाटो निर्माण कुन ठाउँबाट अगाडि बढ्ने भन्ने टुंगो नलागेकाले र पुलको स्ल्याब निर्माणस्थलमा विवाद रहँदा पाइप जोड्ने काममा लामो समय अलमल भएको हो ।

हाल (धान काटिसकेपछि) पाइपलाइन पुनः जडान गर्ने सहमति भएअनुसार सो कामको जिम्मेवारी स्थानीयबासी समेत रहेका नारायण पौडेललाई तोकिएको गर्दी खानेपानी तथा सरसरफाई उपभोक्ता समितिका सचिव नारायण अधिकारीले बताउनुभयो । यतिबेला ध्रुब क्षेत्रमा पाइपलाइनको काम भइरहेको र अबको दुई दिनभित्रमा भैरवपुर क्षेत्रमा काम सुरु गरिने उहाँको प्रतिवद्धता छ ।


