०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका माडी नगर अध्यक्ष भरत तिमिल्सिनाले ‘बनकट्टास्थित ढाटले उल्टो कर लगाएको’ टिप्पणी गर्नुभएको छ । ‘माडीबाट निकाशी हुने सामानमा नभई आत्मनिर्भर रहेका सामानहरुको आयातमा कर लगाउनुपर्ने’ उहाँको तर्क थियो ।
‘स्कुलको क्यान्टिनमै चुरोट रक्सी बेचिएकाले त्यसको अनुगमन गर्नुपर्ने’ भन्दै उहाँले सेतो माडी गौरवको योजनामा पालिकाको सहयोगको अवस्थाबारे जिज्ञासा व्यक्त गर्नुभयो । ‘केहि संघसंस्थाको नियमित साधारणसभा र पुनर्गठन नभएको’तर्फ ध्यान दिनुपर्ने, ‘डेलिगेनश र भेटवार्तामा जाँदाको प्रगति विवरण र खर्चको विवरण सार्वजनिक हुनुपर्ने’ र ‘भुक्तानी प्रक्रियालाई सहज बनाउनुपर्ने’ उहाँको सुझाव थियो ।

‘अनुगमनलाई कडाई गरे भ्रष्टाचार वा अनियमितता कम हुने’ सुझाव दिँदै ‘नगरका गाडीघोडा (निर्माण साधन)को आम्दानी र खर्चको अवस्था वा नाफा घाटाको अवस्थाबारे हिसाव सार्वजनिक हुनुपर्ने’ समेत उहाँको सुझाव थियो । हाल रोकिएको मध्यवर्ती उपभोक्ता समिति निर्वाचनका बिषयमा पालिकाको सहजिकरणको गर्न समेत उहाँको अनुरोध थियो ।


