१८ पाैष, माडी । नेपाल नेत्र ज्योति संघ चितवन, भरतपुर आँखा अस्पताल चितवन, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर, आँखा उपचार केन्द्र माडी तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा माडी क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा आयोजना हुन लागेको यस शिविरमा मोतियाबिन्दुसहित आँखासम्बन्धी विभिन्न रोगको निःशुल्क जाँच तथा औषधि वितरण गरिने आयोजकले जनाएको छ । शिविर आउँदो पौष २० गतेदेखि २३ गतेसम्म माडी नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन हुने कार्यतालिका रहेको छ ।

कार्यतालिका अनुसार पौष २० गते आइतबार माडी-९ स्थित कृष्णनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा तथा पौष २१ गते सोमबार माडी-१ स्थित गर्दी स्वास्थ्य चौकी बरुवामा र माडी-२ को शितलपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन हुनेछ ।


यस्तै, पौष २२ गते मंगलबार माडी-६ को कल्याणपुर स्वास्थ्य चौकी (स्याउलीवास) र माडी-८ स्थित अयोध्यापुरी स्वास्थ्य चौकी खरकट्टामा शिविर सञ्चालन हुनेछ । पौष २३ गते बुधबार माडी-४ स्थित सिधुवा आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा माडी-६ बसन्तपुरस्थित आँखा उपचार केन्द्रमा शिविर शिविर चल्नेछ ।
शिविर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ । आँखा जाँचका क्रममा मोतियाबिन्दु पहिचान भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया पौष २४ र २५ गते आँखा उपचार केन्द्र माडी-६, बसन्तपुरमा सञ्चालन हुने केन्द्रका सहयोग समिति अध्यक्ष श्रीप्रसाद दवाडीले जनाउनुभयो ।

