१८ पाैष, माडी । माडीभर स्थापित टोल विकास संस्था, महिला तथा आमा समूह र कृषि समूहहरुको लेखापरीक्षण माडी नगरपालिकाले गरिदिने भएको छ ।
माडी नगरपालिकाको ६२औँ नगर कार्यपालिका बैठकले नगर क्षेत्रमा स्थापना भई दर्ता कायम रहेका तर आर्थिक अभावका कारण लेखापरीक्षण गराउन नसकेका टोल विकास संस्था, आमा समूह तथा कृषि समूहहरूको लेखापरीक्षण खर्च एक पटकका लागि नगरपालिकाले व्यहोर्ने निर्णय गरेको हो।

यस निर्णयले ती संस्थाहरूको नविकरण प्रक्रियामा सहजीकरण हुने नगर कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेलले बताउनुभयो । समुदायस्तरमा क्रियाशील यस्ता संस्थाहरू पुनः सक्रिय हुँदा टोल सरसफाइ, वातावरण संरक्षण, सामुदायिक सुरक्षा, विपद् व्यवस्थापन, योजना अनुगमन तथा जनसहभागितामा सकारात्मक प्रभाव देखिने उहाँले विश्वास व्यक्त गर्नुभयो।

यसैगरी, बैठकमा टोल विकास संस्थाहरूको आयश्रोत व्यवस्थापनका विषयमा समेत छलफल भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभयो। आगामी दिनमा नक्सा पास सम्बन्धी पुस्तक टोल विकास संस्थामार्फत उपलब्ध गराउने र त्यसबाट प्राप्त आम्दानीको ५० प्रतिशत हिस्सा सम्बन्धित टोल विकास संस्थाकै हुने लगायतका व्यवस्था गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

