२२ पाैष, माडी । माडी–६, स्याउलीबासमा हालै निर्माण सम्पन्न भएको कल्याणपुर स्वास्थ्य चौकी भवनको औपचारिक समुद्घाटन भएको छ । स्वास्थ्य चौकी परिसरमा मंगलबार एक औपचारिक कार्यक्रमबिच बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भवनमा रिबन काटेर तथा मेटल प्लेट अनावरण गरेर भवनको औपचारिक समुद्घाटन गर्नुभएको हो ।
माडी नगरपालिकाको ६ लाख रुपैंया लागत साझेदारी एवं बागमती प्रदेश सरकारको २ करोड १ लाख (कूल २ करोड ७ लाख) रुपैंया बजेटबाट अस्पतालको दुईतले सुविधासम्पन्न भवन निर्माण भएको हो । भवन निर्माणका लागि दोभान रेशम विकास कृषक समूह, माडी–६, स्याउलीबासले भूमिदान गरेको थियो ।


कार्यक्रममा बोल्दै प्रदेशमन्त्री थापामगरले ‘माडीबाट बसाइँ सरी जाने क्रम बढ्नुको प्रमुख कारण गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको अभाव रहेको’ औंल्याउनुभयो । उहाँले ‘माडीबासीलाई माडीमै राख्न प्रदेश सरकारको आगामी बर्षको बजेटले सघाउने’ आश्वासन दिनुभयो । माडी नगरपालिकाले समेत यसैमा ध्यान दिनुपर्ने उहाँको जोड थियो ।

‘माडीको बघौंडा अस्पताललाई प्रादेशिक अस्पताल बनाउन गतबर्ष नीति तथा कार्यक्रममा समेटिएको’ स्मरण गर्दै उहाँले ‘प्रदेश सरकारले सो अस्पताललाई धेरथोर बजेट र औजार उपकरण दिइरहेको’ बताउनुभयो । ‘आगामी बर्ष सो अस्पतालको भवन निर्माण पुरा गर्ने’ उहाँको प्रतिवद्धता थियो ।
‘प्रदेश सरकारले एम.वि.वि.एस. र एम.डि. पढाउन सुरु गरेकाले आगामी बर्ष डक्टर समेत पठाउने’ बताउँदै मन्त्री थापामगरले ‘प्रदेश सरकारले माडीसहित प्रदेशभरी नै सामुदायिक विद्यालयहरुमा नर्सको व्यवस्था गरेको’ औंल्याउनुभयो ।
त्यस्तै, माडी नगरप्रमुख तारा कुमारी काजी महतोले ‘कल्याणपुर स्वास्थ्य चौकीको नवनिर्मित भवनमा अब पुरानै सेवा मात्र नभई थप तथा गुणस्तरीय स्वास्थ्य सेवा आवश्यक रहेको’ बताउनुभयो । ‘ज्येष्ठ नागरिक, अशक्त, सुत्केरी महिला तथा दीर्घरोगीलाई लक्षित गरी घरमै स्वास्थ्य परीक्षण गर्ने कार्यविधि पारित भइसकेको’ समेत जानकारी दिनुभयो । ‘अब वडास्तरका स्वास्थ्यकर्मी परिचालन गरी गाउँ-गाउँमा पुगेर सेवा सुरु गरिने’ उहाँको भनाइ थियो ।
त्यसैगरी, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले ‘कल्याणपुर स्वास्थ्य चौकीले नयाँ भवन प्राप्त गरे पनि त्यसमा आवश्यक मानवीय स्रोत, दक्ष जनशक्ति, औषधि तथा उपकरणको उपलब्धता अत्यन्तै महत्वपूर्ण रहेको’ औंल्याउनुभएको छ ।

‘माडी नगरपालिकाको आन्तरिक स्रोत सीमित रहेको’ उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत भुसालले ‘फर्निचर, औषधि उपकरण तथा प्रयोगशाला (ल्याब) सञ्चालनका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न कठिनाइ भइरहेकाले सहयोगका निम्ति प्रदेश एवं संघीय सरकारसमक्ष अनुरोध’ समेत गर्नुभयो ।
स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवं वडाध्यक्ष दीपेन्द्रराज पौडेलको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा माडी नगरप्रमुख ताराकुमारी काजी महतो एवं प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख निर्मल घिमिरे लगायतको आतिथ्य रहेको थियो ।

