चितवन खबर पोष्ट

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवनका तीन वटै निर्वाचन क्षेत्रमा ६५ जनाले उम्मेदवारी दर्ता

०६ माघ, माडी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मंगलबार चितवनका तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । बिहान १० बजेदेखि सुरु भएको मनोनयन प्रक्रियामा तीन वटै क्षेत्रमा गरी कुल ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

चितवनसंगै देशैभर चर्चामा रहेको चितवन क्षेत्र नं. ३ मा ६ जना स्वतन्त्रसहित २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहायक निर्वाचन अधिकृत सुरत प्रसाद तिमल्सेनाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेनु दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी नेपाली कांग्रेसबाट पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ, नेकपा (एमाले)बाट भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलिया उम्मेदवार बनेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)बाट आशिक महतो, उज्यालो नेपाल पार्टीबाट डम्बर बहादुर तामाङ तथा श्रम संस्कृति पार्टीबाट तोजमान गुरुङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

उता, चितवन निर्वाचन क्षेत्र नं. १ मा ४ जना स्वतन्त्रसहित कुल १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहायक निर्वाचन अधिकृत अमृत विश्वकर्माका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट यसअघि निर्वाचित सांसद हरि ढकालले पुनः उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट राजेन्द्र बुर्लाकोटी, नेकपा (एमाले)बाट बागमती प्रदेशका पूर्व मन्त्री दावा दोर्जे लामा उम्मेदवार बनेका छन् ।

यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कृष्ण पन्त, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट अनिश तामाङ, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट धनबहादुर गुरुङ तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)बाट गणेश बहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

यसबाहेक, चितवन निर्वाचन क्षेत्र नं. २ मा ६ जना स्वतन्त्रसहित २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहायक निर्वाचन अधिकृत देवी भण्डारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका छन् । सहकारी ठगी मुद्दाका सिलसिलामा वीरगञ्जमा रहेका लामिछानेले भरतपुर महानगर सभापति सीता ज्ञवालीलाई वारेस नियुक्त गरी उम्मेदवारी दर्ता गराएका हुन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट अधिकारकर्मी मीना खरेल, नेकपा (एमाले)बाट युवा नेता अश्विन घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जगदीश्वर अधिकारी तथा नेकपा (माओवादी)बाट दर्शना कुमारी शाही उम्मेदवार बनेकी छन् ।

तपाईको प्रतिक्रिया