चितवन खबर पोष्ट

नेपाली कम्युनिष्ट पार्टीकी नेतृ प्रमुख रेनु दाहालले चितवन ३मा उम्मेदवारी दर्ता (भिडियो सहित)

०६ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा भरतपुर महानगरपालिकाका निवर्तमान प्रमुख रेनु दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।

करिब नौ वर्षसम्म भरतपुर महानगरपालिकाको नेतृत्व गर्नुभएका दाहालले आज बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामापत्र बुझाउनुभएको हो । राजीनामा बुझाएलगत्तै भरतपुर महानगरपालिकाले उहाँलाई औपचारिक रूपमा बिदाइ गरेको थियो। दाहालको राजीनामापछि उपप्रमुख चित्रसेन अधिकारी कार्यवाहक मेयर बन्नुभएको छ ।

यसैबिच, रेनु दाहालले भरतपुर र माडीको विकास र समृद्धिको बाँकी यात्रा पूरा गर्नका लागि आफूले पुनः उम्मेदवारी दिएको बताउनुभएको छ। चितवन निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले पदभन्दा पनि जिम्मेवारी आफ्ना लागि मुख्य भएको स्पष्ट पार्नुभयो।

दाहालले विगत ९ वर्षमा भरतपुरको नेतृत्व गर्दा आफूले ‘जनताको सेवक’ भएर काम गरेको र त्यसलाई आम भरतपुरबासीले नजिकबाट मूल्याङ्कन गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “भरतपुरको छोरीको रूपमा मैले यहाँको विकासका लागि जुन नेतृत्वदायी भूमिका निर्वाह गरेँ, त्यसलाई जनताले राम्ररी बुझ्नुभएको छ। कामले नै मेरो क्षमता प्रमाणित गरिसकेको छ।”

निर्वाचन र आन्दोलनका सन्दर्भमा बोल्दै उहाँले देशमा भएका परिवर्तनहरूमा आफूहरूको ठुलो योगदान रहेको र अबको मुख्य कार्यभार विकास नै भएको उल्लेख गर्नुभयो। “जनताले निष्ठावान र काम गर्ने प्रतिनिधि खोजेका छन्। मलाई विश्वास छ, मेरो काम र अनुभवका आधारमा जनताले मलाई नै रोज्नेछन्,” उहाँले थप्नुभयो।

महानगरको कार्यकाल नसकिँदै किन उम्मेदवारी दिनुभयो भन्ने प्रश्नमा दाहालले भन्नुभयो, “मेरा लागि पद ठुलो कुरा होइन, जिम्मेवारी र राष्ट्रको हित मुख्य हो। यस क्षेत्रको आवश्यकता र जनताको चाहनालाई महसुस गरेर नै मैले यो निर्णय लिएकी हुँ।” उम्मेदवारी दर्ताका क्रममा देखिएको जनसहभागिताले आफू निकै उत्साहित भएको र क्षेत्र नं. ३ का बासिन्दाको पूर्ण साथ रहने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया