चितवन खबर पोष्ट

‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहरका रूपमा विकास गर्नेछु’: रेनु दाहाल (भिडियो सहित)

०८ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ की उम्मेदवार रेनु दाहालले ‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहरका रूपमा विकास गरेरै छाड्ने’ दृढता व्यक्त गर्नुभएको छ।

नेकपा माडी-५ वडा कमिटीद्वारा विहिबार (आज) रमाइलोडाँडामा आयोजित उम्मेदवार परिचय कार्यक्रममा मुख्यतः महिला सहभागीहरूलाई सम्बोधन गर्दै दाहालले ‘माडीमा बाढी तथा नदीकटान नियन्त्रण, जंगली जनावरको बस्ती प्रवेश रोकथाम तथा जनधन क्षति न्यूनिकरण, भूमिगत वा लिफ्ट सिँचाइको विस्तार र पर्यटकीय पूर्वाधारसम्बन्धी ठूला योजना सञ्चालन गर्ने’ प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्बोधनका क्रममा भरतपुर महानगरपालिकाकी निवर्तमान मेयरसमेत रहनुभएकी दाहालले ‘अब माडीलाई पनि भरतपुरजस्तै विकासको मूलप्रवाहमा जोड्न केही लाखका साना योजनाभन्दा करोडौँका ठूला विकास आयोजना कार्यान्वयन गरिने’ बताउनुभयो। ‘आफूले बोलेको कुरा पूरा गरेरै छाड्ने र भनेको काम गरेर देखाउने स्वभाव रहेको’ उहाँको भनाइ थियो।

उहाँले भरतपुर-माडी-ठोरी सडकको पूर्णता, ठोरी नाकालाई स्थायी रूपमा भन्सार कार्यालयसहित सञ्चालन, ठोरी-केरुङ लोकमार्ग स्थापना गरी त्रिदेशीय पारवहन प्रणाली सञ्चालनलगायतका योजनाहरू तत्कालीन तथा दीर्घकालीन योजनामार्फत अघि बढाइने र ती सबैलाई आफ्नो प्रतिबद्धतापत्रमा समेटिने जानकारी दिनुभयो।

दाहालले विपक्षीहरूले आफ्नो विकासप्रेमी छविलाई स्वीकार गर्न बाध्य भएको तर नीति निर्माणमा कमजोर छिन्‌’ भन्ने अर्थहीन तर्क अगाडि सारेको टिप्पणी समेत गर्नुभयो । कार्यक्रममा बोल्दै दाहालले भन्नुभयो, “अहिले विपक्षी दलका साथीहरूले पनि रेनु दाहाल सफल मेयर हो, जनताको मन जितेकी छ भनेर स्वीकार गर्न थालेका छन् । भ्रष्टाचार, बेथिति वा काम नगरेको कुनै पनि आरोप लगाउने ठाउँ नपाएपछि ‘विकास त गरिन् तर नीति निर्माणमा कमजोर छिन्‌’ भन्ने अर्थहीन तर्क अगाडि सारिएको छ ।”

आफ्नो राजनीतिक र शैक्षिक यात्राको प्रसंग उठाउँदै उहाँले उच्च शिक्षा अध्ययन गर्न नपाउनु व्यक्तिगत कमजोरी नभई देशको व्यवस्था परिवर्तन र जनताको अधिकारका लागि संघर्ष गर्दा पढाइ रोकिएको परिणाम भएको प्रष्ट पार्नुभयो । “संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान निर्माणमा मेरो पनि नेतृत्वदायी भूमिका छ,” उहाँले भन्नुभयो ।

सुशासन र विकासका उपलब्धि प्रस्तुत गर्दै दाहालले भरतपुर महानगरपालिकाले बेरुजु फर्स्यौटमा देशकै महानगरहरूमध्ये उत्कृष्ट नतिजा हासिल गरेको, पूँजीगत खर्चमा अग्रणी रहेको र न्यून फजुल खर्चमा महानगर सञ्चालन गरिएको दाबी गर्नुभयो। “मलाई प्रहार गर्ने ठोस आधार नपाएपछि नीति निर्माणको बहानामा भ्रम छर्न खोजिएको छ,” उहाँले भन्नुभयो, “तर जनताले काम र परिणामका आधारमा मुल्याङ्कन गरेका छन् ।”

तपाईको प्रतिक्रिया