चितवन खबर पोष्ट

‘सांसदले विकास निर्माण र कानुन निर्माण दुवै काम गर्नुपर्छ’: राप्रपा उम्मेदवार दिपक थापा (भिडियो)

१५ माघ, माडी । चितवन निर्वाचन क्षेत्र नम्बर-३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दिपक थापामगरले ‘सांसदले विकास निर्माण र कानुन निर्माण दुवै काम गर्नुपर्ने’ बताउनुभएको छ । बुधबार माडीको बसन्तपुरमा स्वदेश एफ.एम.संग जम्काभेट कार्यक्रममा बोल्दै थापामगरले ‘जनतालाई कानुनका कुरा मात्र नभई प्रत्यक्ष देखिने विकास आवश्यक पर्ने र सांसदले त्यो पुरा गर्नुपर्ने’ बताउनुभएको हो ।

‘सांसदले एक्लैले कानुन बनाउने नभई विज्ञ र सरोकारवालासँग छलफल गरेर मात्रै निर्माण हुने’ उल्लेख गर्दै उहाँले हालका नीति-नियममा रहेका कमजोरी वा ‘चोर प्वाल’हरू टाल्न कानुन संशोधनको आवश्यकता औंल्याउनुभयो ।

पूर्व सांसद विक्रम पाण्डेको कामबारेको जवाफमा थापामगरले ‘माडी क्षेत्रमा मालपोत र नागरिकता सेवा विस्तार भएको, चनौलीमा पनि मालपोत सेवा पुगेको, रिउ कोरिडोर, विक्रम मार्ग तथा चक्रपथजस्ता पूर्वाधार विकासका योजनाहरू अघि बढेको र राष्ट्रिय निकुञ्जको शुल्क मिनाहा भएको बताउँदै पुरा हुन बाँकी योजनाहरू आफूले निरन्तरता दिने’ बताउनुभयो ।

यस्तै, थापामगरले राजसंस्थासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र संघीयता खारेजी राप्रपाको नीति एवं एजेण्डा रहेको बताउनुभएको छ । केन्द्रीय एजेण्डा बाहेक चितवन क्षेत्र नं. ३ गोन्द्राङदेखि माडी क्षेत्रसम्म देखिएका समस्याहरु समाधान गर्ने पनि लक्ष्य लिइएको उहाँले बताउनुभयो ।

माडी र मेघौली क्षेत्रमा रहेका खोला तथा नदीनालामा तटबन्ध निर्माण गरी बाढी तथा कटान नियन्त्रण गर्ने तथा जंगली जनावरको समस्यालाई व्यवस्थापन गर्दै त्यसलाई पर्यटनसँग जोडेर आम्दानीको स्रोत बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

कृषि क्षेत्रमा ‘चितवनको तोरी’ लाई पुनःब्रान्डिङ गरी पुरानो पहिचान फर्काउने योजना रहेको थापामगरले जानकारी दिए । साथै, रोजगारी सिर्जनाका लागि ‘एक वडा, एक उद्योग’ अवधारणाअनुसार स्थानीय स्तरमै उद्योग स्थापना गरी स्वरोजगार बढाइने समेत उहाँको भनाई थियो ।

तपाईको प्रतिक्रिया