४ चैत्र, माडी । माडी नगरपालिकाको सत्रौं नगरसभाबाट नगर प्रहरी सेवा सम्बन्धी विधेयक सर्वसम्मतीले पारित भएको छ । चैत ४ गते (आज) बुधबार मध्यान्ह माडी नगरपालिकाको सभाहलमा सम्पन्न नगरसभाले माडी नगरपालिका कार्यालयको नगर प्रहरी सेवालाई व्यवस्थापन गर्न बनेको नगर प्रहरी विधेयक २०८२ लाई पारित गरेको हो ।
नगर विधायन समिति संयोजक घनश्याम दवाडीले नगरसभामा पेश गर्नुभएको सो विधेयक सभाले पारित गरेसंगै नगर प्रहरी नियुक्तिको नितीगत बाटो खुला भएको छ । हालका लागि ३ जनाको संख्यामा नगर प्रहरी बल खडा गरिने नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।
यसबाहेक नगरसभाले विनियोजन ऐन २०८२ को शंसोधन प्रस्तावलाई समेत सर्वसम्मती पारित गर्दै केहि बजेटहरुको शंसोधन र रकमान्तर गरेको छ । नगरसभाले ९ वटै वडा र नगरका विषयगत शाखाहरुले पेश गरेका केहि बजेटहरु रकमान्तर गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले बताउनुभयो ।




