

५ बैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल प्रचण्डले माडी क्षेत्रको साँसदको रुपमा ३ बर्ष बिताउँदा केहि काम गरेपनि ‘स्वयम् सन्तुष्ट भने नरहेको’ बताउनुभएको छ ।

वाई.सि.एल. नेपालको माडी नगर भेला एवं जनसभालाई सम्बोधन गर्दै प्रचण्डले यस अवधीमा माडी क्षेत्रको पूर्वाधार विकास, तटबन्धन, प्राविधिक शिक्षालय, खानेपानी, विध्युत लगायतको क्षेत्रमा केहि काम गरिएको बताउनुभयो । तर निकुञ्ज तथा वन संरक्षण ऐनको शंसोधन तथा निकुञ्जभित्र कालोपत्रे सडक वा आकाशेपुलको निर्माण सुरु गर्न नसकेको उहाँको स्वीकारोक्ति छ ।

२०२८ सालमा बनेको निकुञ्ज ऐनले हालको माडीको आवश्यकता पुरा गर्न नसक्ने भएकाले त्यसको शंसोधनमा ध्यान दिइएपनि ‘प्रधानमन्त्री के.पी. ओलीको असहयोगका कारण’ पुरा गर्न नसकेको प्रचण्डको आरोप छ । माडीको बिकास गर्न आफू संधै प्रयासरत रहेको दावी गर्दै उहाँले निकुञ्जका कारण माडीमा परिरहेको समस्या हटाउन जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको दोहोर्याउनुभयो । यसअघि आफ्नै खेमाका वनमन्त्री शक्ति बस्नेत वनमन्त्री हुँदा समेत निकुञ्ज ऐन शंसोधन र निकुञ्ज सिर्जित समस्याहरू हटाउन प्रचण्डबाट पर्याप्त पहल नभएको माडीबासीहरु बताउँछन् ।५
