देश-प्रदेश खबर पोष्ट

सीसीएमसी प्रमुखमा माडीबासी समेत रहनुभएका नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा

१८ ज्येष्ठ, चितवन । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नियुक्त हुनुभएका नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले कार्यभार सुरु गर्नुभएको छ ।

माडीबासी समेत रहनुभएका पूर्वरथी शर्मालाई गत सोमबार सरकारले केन्द्रको मुख्य कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । स्वदेश एफ.एम.को दैनिक सन्ध्याकालीन कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै उहाँले कोरोना संक्रमित बिरामीको सक्दो बढी जीवन बचाउन प्रदेश र स्थानीय तहसंग समेत समन्वय गर्दै तीब्रतामा काम गर्ने बताउनुभयो । सम्पूर्ण माडीबासीहरुलाई स्वास्थ्यप्रति सजग बन्न आग्रह गर्दै उहाँले सबैको सु-स्वास्थ्यको कामना समेत गर्नुभयो ।

नेपाली सेनाको उच्च नेतृत्वमा पुगी निवृत्त हुनुभएका पूर्वरथी शर्माले यसअघि माओवादी लडाकूहरुको सेना समायोजन कार्यमा सफलतापूर्वक नेतृत्व गर्नुभएको छ । त्यसैगरी उहाँले संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरका रुपमा सिरियाको गोलान हाइटमा शान्ति स्थापना कार्य तथा संकट व्यवस्थापनका विभिन्न मिसनहरुमा काम गर्नुभएको थियो । उहाँलाई नेपाली सेनामा उच्च सम्मानसहित ‘आर्मी थिंक ट्यांक’का रुपमा चिन्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार