

३० श्रावण, चितवन । माडीमा सम्पन्न सर्बदलिय बैठकले मौजुदा नीति, ऐन र कानुन बमोजिम लगानीमैत्री वातावरण बनाउन माडी नगरपालिकालाई सुझाव दिएको छ ।

जग्गा खण्डिकरण सम्बन्धी विवादका बिच शनिवार सम्पन्न सर्वदलिय बैठकले मौजुदा ऐन, नियम र कानुनमा टेकेर स्थानीय सरकारको अधिकारको प्रयोग गरी काम गर्न सुुझाव दिएको नेपाली काँग्रेस माडीका नगर सभापति कोमलनाथ भुसालले बताउनुभयो ।

जग्गा खण्डिकरण प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी नगरपालिकालाई पत्र काटेकोमा नगरपालिकाले उत्तरित गर्नुपर्ने र आगामी दिनमा विवाद नहुनेगरी काम अगाडि बढाउन सुझाव दिइएको नगर सभापति भुसालको भनाई थियो ।

बैठकले ट्वन्टीवान प्रपर्टी ग्रुप (प्रा.) लि. जस्ता व्यवसायिक कम्पनीहरुलाई कानुन बमोजिम काम गर्ने ‘लगानीमैत्री वातावरण बनाइदिन’ नगरपालिकालाई सुझाव दिइएको नेकपा (एमाले) माडी नगर अध्यक्ष रेशमलाल आचार्यले जनाउनुभयो । माडीमा जग्गा खण्डिकरण सम्बन्धमा विवाद समाधानका लागि पटक पटक सर्वदलिय बैठक बस्दै आएकोमा शनिवार सो निर्णय भएको हो ।