

१९ भाद्र, चितवन । मगोई खोलामा बाढी आउँदा माडीका मोटरसाइकल चालकहरुलाई शुल्क तिरी गाडामा बाइक तार्नुपर्ने बाध्यता अझै हटेको छैन ।

केहि समय बर्षा हुनासाथ बाढी आइहाल्ने मगोई खोलामा बाइक हेलिएर तार्दा खोलामै फँस्ने, डुब्ने, बगाउने तथा र अन्य क्षती हुने जोखिम उच्च रहन्छ । यस्तोमा वरपरका गाउँलेहरुले गाडा चलाई बाढीग्रस्त खोला तारिदिने सेवा प्रदान गर्दै आएका छन् । उनीहरुले बाढीको अवस्था हेरी प्रति मोटरसाइकल ५० देखि १०० रुपैंया शुल्क लिनेगरेका छन् ।

मगोई खोलामा पुल निर्माण कार्य लगातार ढिलाई भइरहँदा बर्षायाम बाढीका कारण माडीको यातायात सेवा प्रभावित हुनेगरेको हो । हाल माडी नगरपालिकाले खोलाभित्र सवारी साधनहरु वारपार हुने स्थानमै गहिरो खाल्डो हुनेगरी खोलाको बहाव एकीकृत गरेकाले बर्षायाममा झनै समस्या बढेको सवारी चालकहरुको गुनासो छ ।
