

१७ फागुन, चितवन । आफ्ना दिवंगत हजुरबुबा हजुरआमाको स्मृतिमा माडी – ७, कीर्तनपुर देवीकोट टोल निवासी दाजुभाई अरुण र सुलभ रानाभाटले प्रवेशद्वार निर्माण गर्नुभएको छ ।

रानाभाट दाजुभाईले हजुरबुबा नन्दलाल र हजुरआमा उजेली रानाभाटको स्मृतिमा सपरिवार करीब ४ लाखको लागतमा फलाम र कंक्रिट निर्मित गेट निर्माण गर्नुभएको हो । कीर्तनपुर देवीकोट शिवालय मन्दिर चोकबाट गोपालनगर गौरीनगर गाउँतर्फ जाने मुल सडकको वारवार हुनेगरी निर्माण भएको सो गेटलाई निर्माता परिवार र स्थानीयबासीले नन्दलाल-उजेली रानाभाट स्मृति प्रवेशद्वार नाम जुराएका छन् ।

नवनिर्मित नन्दलाल-उजेली रानाभाट स्मृति प्रवेशद्वारको मंगलबार महाशिवरात्री पर्वको अवसर पारी माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले समुद्घाटन गर्नुभयो । शिवालय मन्दिर निर्माणका प्रमुख अभियन्ता समेत रहनुभएका निवृत्त शिक्षासेवी घनश्याम भण्डारीको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा माडी ७ का वडाध्यक्ष बालकृष्ण सापकोटा, स्थानीय सामाजिक अगुवाहरु श्याम बिष्ट, कृष्ण रानाभाट, भीम बहादुर क्षेत्री, ईन्द्रजित कुँवर लगायतसंगै रानाभाट परिवार र स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।
