

चितवन । बसेनी-चनौली ३३ के.भी. प्रशारण लाईन ओभरलोड हुँदा माडीसंगै पश्चिमी चितवन क्षेत्रमा साँझपख पटकपटक बिजुली अवरुद्ध हुन थालेको छ ।

पश्चिमी चितवन र पुरै माडी क्षेत्रसम्मै बिजुली प्रवाह गर्ने सो प्रशारण लाइन ओभरलोड भएकाले साँझ ६ बजेदेखि राती १० बजेसम्मको पिक समयमा ट्रिप हुनेगरेको वितरण केन्द्र प्रमुख ईं. शिशिर लम्सालले बताउनुभयो ।

हाल रोपाईं एवं सिंचाईका लागि अधिकांश कृषकहरुले साँझपख पिक समयमै सिंचाई मोटर चलाइदिँदा ओभरलोडको समस्या झनै बढेको ईं. लम्सालको भनाई छ । पश्चिमी चितवनको देवनगरमा निर्माणाधीन सबस्टेशनको काम सम्पन्न गर्न चितवन राष्ट्रिय निकुञ्जबाट सहयोग नहुँदा ओभरलोडको समस्या हल गर्न असहज भइरहेको उहाँले जानकारी दिनुभयो ।

अहिलेको समयमा साँझ ६ बजेदेखि १० बजेसम्म सिंचाई मिटर नचलाई अन्य समयमा चलाएर सहयोग गरिदिन चनौली वितरण केन्द्रले कृषक ग्राहकहरुमा अनुरोध गरेको छ । यसबाट लाइन ट्रिप हुने समस्या केहि हल हुने वितरण केन्द्रले जनाएको हो ।