

चितवन । माडी नगरपालिका ४ नम्बर वडा कार्यालयले वडाभित्रका अशक्त, अपांग र बृद्धबृद्धाहरुलाई घरघरै पुगी उपचार सेवा दिन सुरु गरेको छ ।

वडाध्यक्ष माधव चापागाईं सहित वडा सदस्यहरुको उपस्थितिमा स्वास्थ्यकर्मीहरुले घोसरी गाउँबाट अशक्त, अपांग र बृद्धबृद्धाहरुको स्वास्थ्य उपचार सेवा सुरु गरेका हुन् । वडाका सबै टोल र गाउँहरुमा क्रमशः यो सेवा दिने कार्यक्रम रहेको वडा कार्यालयले जनाएको हो ।

चालू आर्थिक बर्षमा मासिक घरदैलो स्वास्थ्य सेवाका लागि १ लाख रुपैंया बजेट विनियोजन रहेको वडाध्यक्ष चापागाईंले जनाउनुभयो । यसबाहेक वडाका दलित र बिपन्न वर्गको स्वास्थ्य सुधारका लागि ३०० घरपरिवारको स्वास्थ्य वीमा गर्न १० लाख ५० हजार रुपैंया समेत विनियोजन रहेको उहाँले जानकारी दिनुभयो ।
