माडी (स्थानीय) खबर पोष्ट

माडी ९ का वडाध्यक्षको सुरुवाती १०० दिन : शिक्षा, तटबन्धन, सिंचाई र बाटोलाई प्राथमिकता

चितवन । कार्यकालको सुरुवाती १०० दिनको अवधीमा माडी ९ का वडाध्यक्ष घनश्याम दवाडीले शिक्षा, नदी तटबन्धन, सिंचाई र सडकमार्गलाई प्राथमिकता दिएर काम गर्नुभएको छ ।

यस अवधीमा माडी क्याम्पस बसन्तपुर र दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा अध्ययनरत विद्यार्थीहरुलाई वडा कार्यालयबाट भुक्तान हुनेगरी बसभाडा निःशुल्क गरिएको वडाध्यक्ष दवाडीले जानकारी दिनुभयो ।

त्यसैगरी प्याउलीको पुरानो तटबन्धनलाई बाढीले क्षती गरेकामा त्यसलाई मर्मत गरी बस्ती संरक्षण गरिएको, सहयोगी संस्थासंग समन्वय गरी गोविन्दबस्ती र गणेशकुञ्जस्थित आधारभूत विद्यालयमा शैक्षिक सामग्री प्रदान भएको र गतबर्षदेखि अवरुद्ध रहेको अनार कुलोलाई आकस्मिक मर्मत गरी सिंचाईको व्यवस्था गरिएको उहाँले जनाउनुभयो ।

त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जभित्र बाढीको कारण बिग्रिएको हुलाकी बाटो मर्मत गरी यातायात सुचारु गरिएको, चालू बर्षको बजेटबाट स्वास्थ्य वीमा, सडक मर्मत, सिंचाई बोरिङ, सडकबत्ती, सामुदायिक वनबाट निक्लने जनावर रोक्न मेसजाली राख्न सुरु र कक्षा ५ सम्म पढ्ने विद्यार्थीहरुलाई कापी कलमको व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।

उता, हनुमानझुलामा बाटो स्तरोन्नति र बिग्रिएको बाटो मर्मत गरिएको र बगहीँबाट प्याउली कुसुमखोला हुँदै हनुमानझुला पुग्ने बैंकल्पिक बाटो बनाउने कार्यक्रम अगाडि बढेको वडाध्यक्ष दवाडीको भनाई छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार