चितवन । प्रमुख तीन विद्यार्थी संगठनका माडी क्याम्पस ईकाइ समितिहरुले संयुक्त वक्तव्य जारी गर्दै सहज रुपमा क्याम्पसका गतिबिधी सञ्चालन गर्ने वातावरण बनाउन अनुरोध गरेका छन् ।
काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का क्याम्पस ईकाई समितिहरुले संयुक्त वक्तव्य प्रकाशित गर्दै क्याम्पसमा लागेको ताला खोली सहज वातावरण बनाउन सम्बन्धित पक्षहरुलाई अनुरोध गरेका हुन् ।

विप्लब निकट बिद्यार्थी संगठनले क्याम्पसमा उठाएका जायज मागहरुप्रति समर्थन रहेपनि सो संगठनबाट क्याम्पसमा भौतिक सामग्री तोडफोड भएको र सर्बदलीय बैठकले दिएको निकाशलाई वेवास्ता गर्दै गलत हर्कत गरिएको वक्तव्यमा जनाइएको छ ।

भौतिक तोडफोडप्रति निन्दा र भर्त्सना गर्दै वक्तव्यमा क्याम्पसको बदनाम गराउने तथा सम्पत्तीमाथि हानी नोक्सानी गर्ने क्रियाकलापहरु नदोहोराउन चेतावनी पनि दिइएको छ । मंगलबार बिप्लव निकट विद्यार्थी संगठनले क्याम्पसको लेखा शाखाको एक कम्प्युटरमा तोडफोड गरेको बुझिएको छ ।

