माडी (स्थानीय) खबर पोष्ट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत माडीका पाँचवटा विद्यालयहरुमा भवन निर्माण हुने

मोहन पोखरेल, चितवन

शिक्षा मन्त्रालयको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत माडीका पाँचवटा विद्यालयहरुमा भवन निर्माण हुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको (मन्त्रीस्तरीय) निणर्यबाट प्रस्तावित वडा नं. १० हनुमानझुलास्थित सगरमाथा मा.वि., वडा नं. ९ स्थित कृष्णनगर माध्यमिक विद्यालय, वडा नं. ५स्थित ब्रह्मज्योति आधारभूत विद्यालय र वडा नं. १स्थित बाल्मीकि आधारभूत विद्यालयमा ४ कोठे भवन निर्माणका लागि प्रति विद्यालय ४५ लाख रुपैंया विनियोजन भएको हो ।

त्यस्तै, सोही कार्यक्रम अन्तरगत माडी ६स्थित शिशुकल्याण आधारभूत विद्यालयमा २ कोठे भवन निर्माणका लागि २२ लाख ५० हजार रुपैंया विनियोजन भएको छ ।

यसबाहेक आधारभूत विद्यालय रत्नपुर सेरुवा र दिवाकर स्मृति माध्यमिक विद्यालय रमाइलोडाँडाका लागि सुचना प्रविधी ल्याब स्थापनाका लागि प्रति विद्यालय ६ लाख ५० हजार रुपैंया स्वीकृत भएको माडी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका करीब १३ हजार विद्यालयहरुले आवेदन गरेका थिए । ८ अर्ब ८७ करोड रुपैयाँको यो कार्यक्रम एकै वर्षमा खर्च हुने सरकारको महत्वकांक्षी बजेट हो ।

तपाईको प्रतिक्रिया