माडी (स्थानीय) खबर पोष्ट

डेँङ्गीका बिरामी बढ्दै गएपछि माडी नगरपालिकाद्वारा ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

चितवन । लामखुट्टेको टोकाइबाट डेँङ्गीका बिरामी बढ्दै गएपछि माडी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ ।

अभियान अन्तरगत माडी ६ र ८ वडामा ‘सर्च एण्ड डिस्ट्रोए’ गरिएको नगरपालिकाका जनस्वास्थ्य संयोजक भोजराज खनालले जानकारी दिनुभयो । अभियानमा वडाका स्वास्थ्यकर्मी, वडाध्यक्ष र वडा सदस्यहरु, महिला स्वास्थ्य स्वयम् सेविका लगायतको सहभागिता रहेको उहाँले जनाउनुभयो ।

अभियान अन्तरगत असोज ७ गते बसन्तपुर बजार वरपर तथा असोज ८ गतेभित्र माडीभरी ‘लार्भा सर्च एण्ड डिस्ट्रोए’ गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै विद्यालयहरुमा डेँङ्गीसहित कीटजन्य रोग र महामारीका बिषयमा अनुशिक्षण समेत भैरहेको स्वास्थ्य संयोजक खनालले बताउनुभयो ।

विशेषगरी साँझ-बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेँङ्गीको सङ्क्रमण फैलिने गर्छ । डेँङ्गी नियन्त्रणका लागि जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा जमेको पानी हटाउने गरिन्छ । त्यस्तो पानीमा सो प्रजातिको लामखुट्टेले फूल पार्दछ ।

तपाईको प्रतिक्रिया