

चितवन । काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई बिहीबार माडीमा अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ बाट सम्मानित गरिँदैछ ।

अमेरिकाको क्यालिफोर्नियास्थित एन.आर.एन.ए. ननरेसिडेन्ट नेपाली एशोसिएसनले डा. पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ प्रदान गर्न लागेको हो ।

कोभिड-१९ लगायतका प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको विशेष भूमिकाको प्रशंसा गर्दै एशोसिएसनले डा. पुनलाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो ।

बिहीबार बिहान ११ बजे माडी भिलेज रिसोर्टको सभाहलमा बामगती प्रदेशसभा सदस्य निर्वाचित ठाकुर प्रसाद ढकालले डा. पुनलाई सो पुरस्कार हस्तान्तरण गर्नुहुनेछ । पुरस्कारको राशी ११ सय डलर सहित ताम्रापत्र रहेको छ ।
सोही समारोहमा नर्भिक इन्टरनेशनल अस्पताल, काठमाडौंका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीलाई राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२२ प्रदान हुने कार्यक्रमको व्यवस्थापक देउराली फाउण्डेशनले जनाएको छ ।