

माडी, चितवन । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको ‘नेपालको जनगणना-२०७८’ को प्रतिवेदन अनुसार माडी नगरपालिकाको जनसंख्या ३८ हजार २९५ रहेको छ ।

त्यसमध्ये पुरुष ४७.२ प्रतिशत र महिला ५२.८ प्रतिशत रहेका छन् । यस्तै, कुल घरपरिवारको संख्या १० हजार १२० रहेको छ । जनघनत्व १७५ प्रति वर्गकिलोमिटर रहेको छ ।

जनगणना अनुसार माडी नगरपालिकाको साक्षर प्रतिशत ७९.२ रहेको छ । त्यसमध्ये साक्षर पुरुष ८६.४ प्रतिशत र साक्षर महिला ७२.४ प्रतिशत रहेका छन् ।
त्यसैगरी, नगर क्षेत्रमा २७.१ प्रतिशत अविवाहित, ६६.९ प्रतिशत विवाहित, ५.१ प्रतिशत एकल महिला वा एकल पुरुष, ०.३ प्रतिशत डिभोर्सी र ०.७ प्रतिशत दम्पत्ती छुट्टिएर रहेका छन् ।

जनगणनाको अन्तिम प्रतिवेदन अनुसार ४.२ प्रतिशतमा अपांगता रहेको छ । अधिकांशले १५ देखि २५ बर्षको उमेरमा (पहिलो पटक) विवाह गरेका छन् । ३४.५ प्रतिशतको जन्मदर्ता रहेको छैन ।
परिवारमा बुबा आमा दुबैसंग रहने बालबालिकाहरु ७०.९ प्रतिशत, आमासंग मात्रै बस्ने बालबालिका २३.२ प्रतिशत, बुबासंग मात्रै बस्ने बालबालिका १.३ प्रतिशत र आफन्तसंग रहने बालबालिका ३.६ प्रतिशत रहेको तथ्यांक छ ।
प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्या भने २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । त्यस्तै, चितवन जिल्लाको जनसंख्या ७ लाख १७ हजार ८५९ तथा जिल्लाभरको जनसंख्या बृद्धिदर २.०७ प्रतिशत रहेको उल्लेखित छ ।