

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको मगोई खोलामा निर्माणाीधन पुलको साइड फिलिङ हुन नसक्दा पुल उपयोगमा आउन सकेको छैन ।

पुलको स्ल्याब बिचको ढलान सहित निर्माण कार्य करीब पुरा भइसकेपनि साइड फिलिङको काम अधुरो रहँदा पुल सञ्चालनमा आउन नसकेको हो ।

यसअघि बर्षायाममा ग्राभेल हाली अस्थायी तवरबाट सञ्चालन भएको सो पुल बर्षायाम सकिएपछि बन्द गरी काम सुचारु गरेपनि निर्माण पुरै नसकिँदै अलपत्र छाडिएको छ ।

संघीय सरकारको भौतिक योजना तथा यातायात मन्त्राल अन्तरगत हुलाकी राजमार्ग परियोजनाको करीब ६ करोड ५१ लाखको लागतमा आर्थिक लगानीमा भरतपुरस्थित सपना, लोहनी एण्ड ब्रदर्श ज्वाइन्ट भेन्चरले पुल निर्माणको ठेक्का लिएको थियो ।
३ वटा पिल्लर सहित ९७ मिटर लामो सो पुल २०७४ साल असार २८ गते ठेक्का सम्झौता भई २०७६ असारमै सकिनुपर्ने भएपनि समयसीमा सकिएको चार बर्ष बितिसक्दा पनि अधुरै रहेको छ । पुलको निर्माणबारे बुझ्न ठेकदार पक्षसंग गरिएको सम्पर्कको प्रयास सफल हुन सकेन ।