

चितवन । एकाबिहानैदेखि लामबद्ध भई माडीका किसानहरुले धान बालीमा हाल्न युरिया मलको केहि मात्रा जोहो गरेका छन् ।

माडीका सबै वडाहरुमा एकैपटक बुधबार बिहान अनुदानको मल बिक्री भएकोमा किसानहरु लामबद्ध भई मल खरिद गरेका हुन् । ५० के.जी.को १ बोराबाट २ देखि ४ जनासम्म कृषकहरुलाई मल उपलब्ध गराइएको एक मल बिक्रेताले बताए ।

बुधबार बिहान माडीभर १ हजार ३०० बोरा युरिया मल बिक्री भएको माडी नगर कृषि शाखाका प्रमुख किरण उपाध्यायले बताउनुभयो । आउँदो साता थप १ हजार बोरा मल आउन लागेकाले मलको खासै अभाव नहुने उहाँको भनाई छ ।

किसानहरुले अनुदानमा आएको युरियालाई प्रतिकेजी रु. २०, डि.ए.पी. प्रतिकेजी रु.५० र पोटास प्रतिकेजी रु. ३८ मा खरिद गर्दछन् । मल खरिदका लागि नगरपालिका वा वडा कार्यालयबाटै मलकार्डको व्यवस्था भए व्यवस्थित र सहज हुने उनीहरु बताउँछन् ।
संघीय सरकारको ७० प्रतिशतसम्म अनुदान रहेको युरिया मल खुला बजारमा खरिदका लागि उपलब्ध नहुनाले किसानहरुले तोकिएको बिक्रेताबाटै किन्नुपर्ने बाध्यता रहेको छ । मागभन्दा आपुर्ती कम हुनु र केहि किसानहरुले घरघरमा मल स्टोर गरिदिनाले हरेक बर्ष माडीसंगै सबैतिर मलको अभाव रहँदै आएको छ ।
(फोटोः मलको लागि लामबद्ध किसान)
— — —
#स्वदेश न्युज डेस्क
२०८० भदाै ०६ गते बुधबार बिहान ११:५७ मा अध्यावधिक