

चुनावको मतदान सकिएको भोलिपल्ट नै सरकारले इन्धनको मूल्य बढाएको छ । शुक्रवार बसेको नेपाल आयल निगमको बोर्ड बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ ।

नयाँ मूल्यसूची अनुसार काठमाडौं उपत्यका, सुर्खेत र दिपायलमा नयाँ मुल्यअनुसार प्रतिलिटर पेट्रोल एक सय रुपैयाँ, डिजेल र मट्टीतेल ७७/७७ रुपैयाँ र हवाई इन्धन ८७ रुपैयाँमा बिक्री हुनेछ । पोखरा र दाङमा भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य प्रत्येकमा ७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । त्यस्तै, चारली, वीरगञ्ज, विराटनगर, महेन्द्रनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा डिपोबाट १५ किलोमिटर दूरीमा खरिद गर्ने उपभोक्ताले प्रतिलिटर पेट्रोल ९८ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रत्येकमा ७५ रुपैयाँ ५० पैसा मा खरिद गर्नेछन् । त्यसैगरी खाना पकाउने ग्यासको मूल्य तराईका जिल्लामा १३ सय ५० रुपैयाँ तथा दाङ, कैलाली, बाँके, बर्दिया र कञ्चनपुरमा १३ सय १५ रुपैयाँ कायम गरिएको छ ।

नयाँ मूल्य अनुसार निगमको मासिक घाटा अब ४० करोड रुपैयाँमा सीमित हुनेछ । हाल निगमको मासिक घाटा करीव एक अर्ब रुपैयाँ रहेको निगमको दावी छ । अहिले बढेको नयाँ मूल्य अनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ५३ पैसा र मट्टीतेलमा १४ रुपैयाँ ३६ नाफा हुनेछ । त्यस्तै, मूल्य बढेपनि निगमले प्रतिलिटर डिजेलमा २ रुपैयाँ ७१ पैसा घाटा व्यहोर्नुपर्नेछ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २२६ रुपैयाँ ७७ पैसा घाटा सहनुपर्नेछ ।

चुनावअघि पनि सरकारले इन्धनमा मूल्यवृद्धि गरेको थियो । तर, चुनावमा त्यसले मत प्रभावित हुने अवस्था आएपछि प्रधानमन्त्री शेरबहादुर देउबाको निर्देशमा मूल्यवृद्धि फिर्ता लिइएको थियो । इन्धनको मुल्य बढेसंगै आम उपभोक्ताहरुले हरेक क्षेत्रमा तत्कालै थप महंगीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।