

माडी, चितवन । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले माडीको सिमरा गाउँलाई थारु भिलेज बनाउन बजेट विनियोजन गरिएको बताउनुभएको छ ।

सितलपुर साँस्कृतिक समितिद्वारा माडी-२, सितलपुरमा आयोजित दशैं पर्वविशेष बृहत् साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै मेयर दाहालले थारु भिलेज निर्माणका लागि यसबर्षको बजेट पुस्तकमा योजना समेटिएको र र हाल गुरुयोजना निर्माण भइरहेको बताउनुभएको हो ।

माडी नगरपालिकासंग भगिनी सम्बन्ध कायम भएसंगै यहाँको विकास निर्माणमा सहकार्य गर्न भरतपुर महानगरपालिकाले पहल गरिरहेको पनि उहाँले बताउनुभयो । विगतमा मेयरका रुपमा ठाकुर ढकाल र संघीय संसदका रुपमा पुष्पकमल दाहाल प्रचण्ड रहँदा माडीमा विकासको क्रम उच्च रहेपनि हालका संघीय संसद (विक्रम पाण्डे)को भूमिका खासै नदेखिएको उहाँको टिप्पणी थियो ।

कार्यक्रममा जनप्रीय जनगायक जीवन शर्मा, गायक विकास पाण्डे र गायिका उमादेवी खनालले दर्शकहरुलाई नचाउनुभएको थियो । सितलपुर साँस्कृतिक समितिले हरेक बर्ष दशैं पर्वको अवसर पारी भव्य साँस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।