कृषि र कृषक पोष्ट

तोकिएको भाडादर उल्लंघन गर्दै कृषि यन्त्र व्यवसायीहरुले माडीमा चर्को शुल्क असुल्दै

चितवन । माडी नगरपालिकाले ट्रयाक्टर लगायतका यन्त्र उपकरणहरुको भाडादर तोकेपनि सम्बन्धित व्यवसायीहरुले बढी शुल्क असुलेको गुनासो आएको छ ।

उपमेयर खेमप्रसाद महतोको संयोजकत्वमा गठित कृषि यन्त्रहरुको भाडादर निर्धारण कार्यदलले गत श्रावण पहिलो साता कृषि कार्यका लागि सञ्चालन हुने ट्रयाक्टर लगायतका यन्त्र उपकरणहरुको भाडादर तोकेको थियो ।

तोकिएको भाडादर अनुसार थ्रेसर लगाउँदा प्रतिमिनेट ३० रुपैंयाका दरले एक घण्टाको १८०० रुपैंया र रिपर चलाउँदा प्रतिमिनेट २१ रुपैंयाका दरले एक घण्टाको १२६० रुपैंया निर्धारण रहेको छ ।

त्यस्तै, हाइरो वा कल्टीले जोत्दा प्रतिमिनेट ३० रुपैंयाका दरले एक घण्टाको १८०० रुपैंया तथा रोटाभेटरले जोत्दा प्रतिनिनेट ३५ रुपैंयाका दरले एक घण्टाको २१०० रुपैंया भाडादर तोकिएको छ ।

यसमाथि, माडी नगरपालिका वा कृषि सेवा केन्द्र लगायत कुनैपनि सरकारी वा गैरसरकारी संस्थाबाट अनुदानमा प्राप्त गरेका उपकरण भाडामा चलाउँदा १० प्रतिशत न्यून रकम भाडादर रहने निर्दिष्ट गरिएको छ । निर्णय कार्यान्वयन नगर्ने व्यवसायीलाई नियमानुसार कानुनी कारवाही हुने व्यवस्था समेत रहेको छ ।

तर, व्यवसायीहरुबाटै प्रस्तावित भाडादर नै सदर गरी कार्यदलले भाडादर निर्धारण गरेको र साउनयता पेट्रोलियम पदार्थको मुल्यमा कमी भएको अवस्था रहेपनि हाल व्यवसायीहरुले निर्धारित रकमभन्दा बढी रकम असुलेको गुनासो आइरहेको छ । भाडादर सम्बन्धमा नगरपालिकाको अनुगमन पक्ष फितलो रहेको कृषकहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार