चितवन खबर पोष्ट

माडीका वडाध्यक्षहरुले बिरामी र अशक्त लाभग्राहीलाई घर वा अस्पतालमै पुगी भत्ता हस्तान्तरण गर्दै

चितवन । माडीका वडाध्यक्षहरुले बिरामी र अशक्त अवस्थाका लाभग्राहीहरुलाई घरगाउँ, अस्पताल वा उनीहरु रहेको ठाउँमै पुगी सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्ने गरेका छन् ।

वडाध्यक्षहरुले बैंकमा पुगी चेक साटेर बृद्धभत्ता बुझ्न गाह्रो हुने असक्त अवस्थाका बृद्धबृद्धाहरुलाई घरमै तथा बिरामी भई अस्पतालमा भर्ना रहेकालाई अस्पताल वा उनीहरु रहेकै स्थानमै पुगी भत्ता रकम उपलब्ध गराउन सहजिकरण गर्ने गरेका हुन् ।

माडी नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को अन्त्यसम्म ५ हजार २४४ जना लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्तास्वरुप कूल २० करोड १६ लाख ४३ हजार ४ रुपैंया रकम सामाजिक सुरक्षामार्फत वितरण गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो ।

नगरले वडा नं. १ र २ को भत्ता राष्ट्रिय वाणिज्य बैंक बरुवाबाट, वडा नं. ४ र ५ को भत्ता ग्लोबल आई.एम.ई. बैंक बसन्तपुरबाट, वडा नं. ३, ५ र ६ को भत्ता कुमारी बैंक बसन्तपुरबाट तथा वडा नं. ८ र ९ को भत्ता कृषि विकास बैंक बसन्तपुरबाट वितरणको व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जनाउनुभयो ।

संघीय सरकारको केन्द्रीय पञ्जीकरण विभागले देशभरका स्थानीय निकायहरुमार्फत ज्येष्ठ नागरिक, एकल महिला, अपांग, दलित र लोपोन्मुख समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया