

माडी, चितवन । ‘बँदेलको बच्चा पालेको’ भन्दै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गएराती माडीका दुई महिलाहरुलाई पक्राउ गरेको छ । गएराती करीब ९ बजे निकुञ्ज रक्षक सेनाको टुकडीले माडी ८ खरकट्टा निवासी बर्ष ३८ का सरस्वती भण्डारी र सोही वडाको माथिल्लो शिवद्वार गाउँ निवासी बर्ष ३० का रञ्जिता मगरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैजना बिपन्न महिला कृषक रहेको र दुबैजनालाई गएराती नै सेनाले निकुञ्ज मुख्यालय कसरा पुर्याएको जानकारी पाइएको माडी-८ का वडाध्यक्ष वीरेन्द्र बहादुर भण्डारीले जानकारी दिनुभयो ।

‘स्थानीय सरकार एवं वडासंग कुनै समन्वय नै नगरी पुरुष सुरक्षाकर्मीबाट महिला कृषक पक्राउ पर्नु निन्दनीय रहेको’ वडाध्यक्ष भण्डारीको भनाई छ । निकुञ्ज प्रशासनले यसअघि माडी-१ सेरुवाबाट समेत ३ जना महिला कृषकहरुलाई पक्राउ गरी थुनामा राख्नुका साथै नगद जरिवाना सजाय गरेको थियो ।

नेपाल सरकार भने गतबर्ष मंसिर ७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी निजी खेत, खला, बारीमा आई क्षति पुर्याएको अवस्थामा विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निणर्य गरेको अवस्था छ ।