

माडी, चितवन । चितवन राष्ट्रिय निकुञजभित्र पड्किएको केबुल मर्मत भएसंगै माडीको बिजुली सुचारु भएको छ । नेपाल विध्युत प्राधिकरणका प्राविधिकहरुले फल्ट एलोकेटर मेसिनको सहयोगमा बिहीबार नै बनकट्टा पोष्ट नजिकै केबुल फल्ट रहेको पत्ता लगाएका थिए ।

केबुलको पञ्चर भाग काटेर शुक्रबार मर्मत कार्य सकिएसंगै दिउँसो ४ बजेबाट बिजुली सुचारु भएको हो । फल्ट एलोकेटर मेसिन चितवनमै रहेकाले बिजुली अवरुद्ध भएको ३० घण्टामै बिजुली सुचारु हुनसक्यो । यसअघि यस्तै अवस्थामा करीब एक महिना अवधीसम्मै माडीमा बिजुली अवरुद्ध रहेको विगत छ ।

अवरुद्ध रहँदा माडी नगर क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा र दैनिक जनजीवन प्रभावित हुनपुगेको थियो । निकुञ्जभित्र पटक पटक केबुल फल्ट भइरहेसंगै बैंकल्पिक केबुल राख्ने प्रक्रिया अगाडि बढेपनि ई.आई.ए.को प्रक्रिया अन्तरगत युनेस्कोको सहमती खोजिएसंगै हाल ठेक्का खारेज भएको अवस्था छ ।
