माडी (स्थानीय) खबर पोष्ट

सोमेश्वर मा.वि. स्वर्ण महोत्सवको अवसरमा आयोजित कविता प्रतियोगितामा सुजन परियार प्रथम

माडी, चितवन । सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवको अवसरमा आयोजित माडी नगर माध्यमिक विद्यालयस्तरीय कविता (वाचन) प्रतियोगितामा आयोजक विद्यालयका छात्र सुजन परियार प्रथम हुनुभएको छ ।

त्यसैगरी आयोजक (सोमेश्वर मा.वि.)कै छात्र उपेन्द्र सापकोटा दोश्रो र कृष्णनगर मा.वि.का छात्रा एलिसा तामाङ तेश्रो हुन सफल रहनुभयो । त्यस्तै, माडी मा.वि.का छात्रा कमला परियारले चौथो (सान्त्वना) स्थान हासिल गर्नुभयो । प्रतियोगितामा माडीभरका ७ वटा विद्यालयबाट १२ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो प्रतियोगितामा माडी नगर प्रवक्ता डण्डपाणी पौडेलको प्रमुख आतिथ्य रहेको साहित्यीक उपसमिति संयोजक एवं शिक्षक राधादेवी पाण्डेले जानकारी दिनुभयो ।

स्वर्ण महोत्सव अन्तरगत आउँदो पौष २३ गते मंगलबार चितवन जिल्लास्तरीय साहित्यिक गोष्ठी आयोजना रहेको छ । गोष्ठीमा चितवन जिल्लाका चर्चित लेखक र साहित्यकारहरुसंगै माडीका साहित्य सर्जकहरु एवं साहित्यानुरागी शिक्षक विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ । स्वर्ण महोत्सव अन्तरगत नै पौष २४ गते जिल्लास्तरीय निवन्ध लेखन प्रतियोगिता समेत आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक चन्द्रमणि महतोले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार