१९ बैशाख, माडी । भाषा, कला तथा सांस्कृतिक प्रतिष्ठान नेपाल, भरतपुर–चितवन र माडी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा माडीमा साहित्यिक, सांस्कृतिक तथा शुभेच्छा आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। माडी नगरपालिका–९, बगहींस्थित दुरा सांस्कृतिक भवनमा आयोजित उक्त कार्यक्रममा साहित्य, कला र संस्कृतिका विविध आयामहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रमका सभाध्यक्ष भाषा, कला तथा सांस्कृतिक प्रतिष्ठान नेपालका संस्थापक तथा अध्यक्ष एवं समालोचक डा. एकनारायण पौडेल रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा माडी नगरपालिकाकी नगर प्रमुख ताराकाजी कुमारी महतोको उपस्थिति रहेको थियो।
विशिष्ट अतिथिका रूपमा भरतपुर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण खनाल, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो।

स्वागत मन्तव्य राख्दै माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सापकोटाले भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि संस्थागत सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले माडीको मौलिक पहिचान जोगाउँदै नयाँ पुस्तामा साहित्यिक चेतना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।
प्रमुख अतिथि नगर प्रमुख महतोले माडीको समग्र विकासमा भाषा, साहित्य, कला र संस्कृतिको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै स्थानीय सरकारले यस्ता गतिविधिलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
विद्वत शुभेच्छा प्रवचन दिँदै नारायण खनालले भाषा र वाङ्मयको विकास बिना समाजको बौद्धिक उन्नति सम्भव नहुने उल्लेख गर्नुभयो। उहाँले दुई प्रतिष्ठानबीचको सहकार्यले माडी क्षेत्रमा साहित्यिक जागरण, अनुसन्धान र सिर्जनात्मक अभ्यासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा एल.बी. क्षेत्री, प्रकाश चापागाईं, धनेश्वर भट्टराईलगायतले मन्तव्य राखेका थिए। कवि भूपिन खड्काले कविता वाचन गर्नुभएको थियो भने प्रविण भण्डारीले गजल प्रस्तुत गर्नुभएको थियो।
यसैगरी, गन्धर्व लोकभाका तथा दुरा र थारु समुदायका सांस्कृतिक प्रस्तुति समावेश गरिनुका साथै माडीको सांस्कृतिक विविधता झल्काइएको थियो। कार्यक्रमका अवसरमा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई प्रशंसा–पत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा धनेश्वर भट्टराईले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने सभाध्यक्ष डा. एकनारायण पौडेलले समापन मन्तव्यसहित कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो।



