१९ बैशाख, माडी । वाग्मती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा माडीस्थित बघौडा अस्पतालमा दुईदिने एकीकृत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन सुरू भएको छ।
प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख अभिभावकत्व तथा प्रदेशसभा सदस्य ठाकुर ढकालको प्रमुख आतिथ्यमा आयोजित शिविरमा माडी नगरपालिकाका प्रमुख ताराकाजी महतो, बकुलहर रत्ननगर अस्पतालका निमित्त निर्देशक डा. अंकुर पौडेल, जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरे लगायत स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
शिविरमा गुञ्जमान अस्पताल, बघौडा अस्पताल, मौलाकालिका अस्पताल, पुष्पाञ्जली अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाबाट आएका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको छ। मनोसामाजिक समस्या, नसासम्बन्धी, हाडजोर्नी, स्त्रीरोग, छालारोग लगायत विभिन्न रोगका बिरामीलाई निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण गरिएको छ ।




