२० बैशाख, माडी । माडीको बसन्तपुर बजारका पुस्तक एवं स्टेशनरी व्यवसायी देवीप्रसाद भुर्तेलले स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप स्टेशनरी सामग्री वितरण गर्ने हुनुभएको छ ।
बसन्तपुर बजारमा देवी दाईको पुस्तक पसल सञ्चालन गर्नुहुने भुर्तेलले साविक बघौंडा गा.वि.स. (आफ्नो व्यवसायिक आधार क्षेत्र) मा रहेका माडी माध्यमिक विद्यालय, दिवाकर स्मृति माध्यमिक विद्यालय, खैरहनी माध्यमिक विद्यालय, रतनी धोबाहा आधारभूत विद्यालय र ब्रम्हज्योति आधारभूत विद्यालयबाट १ छात्र र १ छात्रा गरी २/२ जना तथा बघौडा आधारभूत विद्यालयबाट १ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने हुनुभएको हो ।
छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी रु. २,००० बराबरको स्टेशनरी सामग्री उपलब्ध गराइने उहाँले बताउनुभयो । सम्बन्धित विद्यालयले छनौट गर्ने विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तरगत सो सामग्री वितरण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।




