१९ बैशाख, माडी । माडीको ग्रामीण पर्यटन विकासका लागि माडी नगरपालिकाको आयोजना र यहाँका पर्यटन व्यवसायीहरुको सहभागितामा छलफल एवं अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । नगर कार्यपालिकाको सभाहलमा सञ्चालित सो कार्यक्रममा माडीमा रहेका सबैजसो सामुदायिक होमस्टे, फार्मस्टे र पर्यटन व्यवसायीहरु सहभागी रहेका थिए ।
माडी नगरपालिकाको आयोजित सो कार्यक्रममा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल र तारा गाउँ विकास समितिका प्रतिनिधिहरु समेत सहभागी रहेका थिए । कार्यक्रममा माडी क्षेत्रका होमस्टे र फार्मस्टेहरुको प्रवर्द्धन तथा यहाँको पर्यटन विकासका सवालमा छलफल भएको थियो ।
पछिल्लो समय माडी नगरपालिकाले यहाँको पर्यटन विकासका लागि होमस्टे र फार्मस्टेहरुको प्रचारप्रसार, प्रवर्द्धन र डिजिटल तथा अनलाइन उपस्थितिको क्षेत्रमा देखिनेगरी काम गरिआएको छ । यसै सन्दर्भमा पर्यटन क्षेत्रमा सरिक नागरिक र पर्यटन व्यवसायीहरुको सिकाई बढाउन छलफल, अन्तरक्रिया र तालिमहरुमा सहभागिता बढाइएको छ ।




