१९ बैशाख, माडी । नगर कार्यपालिकादेखि वडा तहसम्मै सार्वजनिक सुनुवाई सञ्चालन हुने देशकै पहिलो (र हालसम्म एकमात्र) स्थानीय तहका रुपमा स्थापित माडी नगरपालिकाका अधिकांश वडाहरुमा सार्वजनिक सुनुवाई सम्पन्न भइसकेको छ ।
गत बैशाख ८ गते वडा नं. १ बाट अभियानका रुपमा सुरुवात भएको यो कार्यक्रम शुक्रबार (हिँजो) वडा नं. ९ को हनुमानझुलामा सञ्चालन भयो । अब आउँदो मंगलबार (बैशाख २२ गते) माडी नगरपालिका वडा नं. ८ मा र अन्तिममा विहिबार (बैशाख २४ गते) माडी नगर कार्यपालिकाको सार्वजनिक सुनुवाई नगर कार्यपालिका भवन परिसरमा सञ्चालन हुने कार्यतालिका रहेको छ ।
सार्वजनिक सुनुवाईमा सहभागी हुँदै माडी नगरबासीहरुले सयौं प्रश्न, गुनासा र सुझावहरु प्रस्तुत गरेका छन् । सम्बन्धित जनप्रतिनिधिहरूले प्रश्नहरु उत्तरित गर्दै गुनासो समाधान गरिआएका छन् । सार्वजनिक सुनुवाईको सहजिकरण विज्ञ सहजकर्ताका रुपमा स्वदेश एफ.एम.का अध्यक्ष एवं नेपाल खुला विश्वविद्यालयका अध्यापक देवनारायण शाहले गरिआउनुभएको छ ।

सार्वजनिक सुनुवाई सरकारी वा सार्वजनिक निकायले प्रवाह गर्ने सेवा, योजना, र बजेटको विषयमा सरोकारवाला नागरिकसँग प्रत्यक्ष सवाल-जवाफ गर्ने, पारदर्शीता र जवाफदेहिता सुनिश्चित गर्ने औपचारिक मञ्च हो । स्थानीय तहमा अनिवार्य जस्तै मानिने यो कार्यक्रमले सुशासन प्रवद्र्धन गर्न, जनगुनासो सुन्न र सेवा सुधार गर्न सघाउँदछ ।



