माडी (स्थानीय) खबर पोष्ट

डोजर कारबाहीविरुद्ध सुकुम्बासी आन्दोलनमा, चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक

१८ बैशाख, माडी । सुकुम्बासी बस्तीमा सरकारी डोजर चलाइएको घटनाविरुद्ध सुकुम्बासीहरू आन्दोलनमा उत्रने भएका छन्। अखिल नेपाल सुकुम्बासी संघको अगुवाइमा उनीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

संघले बिहिबार (आज) पत्रकार सम्मेलन गर्दै विरोध प्रदर्शनदेखि अनिश्चितकालीन आम हडतालसम्मका कार्यक्रम अघि सारेको जनाएको छ। साथै, जनताको हितमा काम नगरेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका जनप्रतिनिधिलाई फिर्ता बोलाउन आह्वान गर्ने, तथा ‘राइट टु रिकल’ कार्यान्वयनका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ। सो अभियानअन्तर्गत प्रधानमन्त्री तथा विभिन्न निर्वाचन क्षेत्रका सांसदहरूलाई फिर्ता बोलाउन माग गरिने बताइएको छ।

सरकारले प्रधानमन्त्रीको निर्देशनमा नेपाली सेनाको समेत सहभागितामा थापाथली, सिनामंगल, मनोहरालगायत नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको थियो। काठमाडौं उपत्यकासहित देशका अन्य स्थानमा पनि यस्तै अभियान अघि बढाउने तयारी रहेको बताइएको छ।

यस कदमप्रति विपक्षी दलहरूले विरोध जनाइरहेका छन्। तर, विगतमा साना घटनामा समेत सक्रिय रूपमा प्रतिक्रिया जनाउने विभिन्न अभियन्ता, अधिकारकर्मी र सरोकारवालाहरू भने यस विषयमा मौन रहेका छन् । डोजर चलेपछि विस्थापित भएका बिरामी, ज्येष्ठ नागरिक, सुत्केरी महिला र बालबालिका खुला आकाशमुनि तथा पानीमा भिज्दै आश्रय खोज्न बाध्य भएको कारुणिक दृश्य सार्वजनिक भइरहेका छन्।

तपाईको प्रतिक्रिया